१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आशा लघुवित्तको नाफा ७३.२४ प्रतिशतले घट्याे, प्रतिसेयर आम्दानी कति ?

२२ वैशाख, काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १७ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा २७.९५ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी २५ करोड ५८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ।

यो अवधिसम्म कम्पनीकाे चुक्तापूँजी ३८ करोड १६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको जगेडा कोषमा १७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा ४ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब १८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाबाट घटेर ११ रुपैयाँ ५४ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.९४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ११:००