१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिका पुर्याइदिने लोभमा नेपालीलाई भुटानी बनाएर ठग्ने इन्द्रजीत राई पक्राउ

१९ वैशाख, काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्व सञ्चारमन्त्री नैनकला थापाका सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई ललितपुरको सुनकोठीबाट पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी बनाएर ठगी गर्ने गिरोहका नाइके राईलाई प्रक्राउ गरिएको र अन्यलाई पक्राउ गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राईको समूहले ठगी गरेको उजुरीहरू परेको छ । उनले भने,‘इन्द्रजित राई पक्राउ परेका छन् । संगठित अपराध तथा ठगि मुद्धामा उनी विरुद्ध अनुसन्धान गर्नु पर्ने देखियो । त्यसो हुँदा उनलाई पक्राउ गरिएको हो ।’

राई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोगमा प्रहरीले केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा राई पनि संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा राईका छोरा निरज राईको पनि संलग्नता रहेको खुलेको छ । उनीहरु विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ । उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ८ सय ७५ नेपाली नागरिकसँग रकम असुलेको अनुसन्धानबाट खुलेको छ । १० देखि १५ लाख रुपैयाँका दरले उनीहरुले रकम असुलेको प्रहरीको भनाई छ । एमाले उपाध्यक्ष बादलका छोरा र एमालेका सचिव टोपबहादुर रायमाझीका छोराको पनि संलग्नताको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

राइ तत्कालिन गृहमन्त्री थापाको २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए ।  थापा गृहमन्त्री हुंदा प्रहरीको सरुवा बढुवामा समेत उनको भुमिका बढी नै भएको भन्दै आलोचना हुने गरेको थियो । प्रहरीले यही प्रकरणमा कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:५८