२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

पानीको हाहाकार भएको भन्दै चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रित्तो गाग्रीको लाइन

१७ वैशाख, काठमाडाैं । खानेपानीको हाहाकार भएको भन्दै चन्द्रागिरी नगरपालिकाका महिलाहरु नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका छन्। उनीहरूलेकार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।

उनीहरुले रित्ता गाग्रीमा ‘एकिकृत खानेपानी योजना लागु गर’, ‘बल्म्बुमा खानेपानी अभाव भयो, तपाईंले केही बोलिदिनु न प्लिज’, ‘खानेपानी ऐन तुरुन्त लागु गर’, ‘खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान गर’ जस्ता माग लेखिएको नारा टाँसेका छन्।

प्रदर्शनकारीहरुले शुद्ध पिउने पानी आफूहरुको पहिलो अधिकार भएको लगायतका विभिन्न नारा लगाउँदै नगरपालिका भवन प्रवेश गरेका थिए। उनीहरूले करोडौंको नगरपालिका भवन बनाउन सक्ने नगरपालिकाले खानेपानी समस्या समाधान गर्न नसकेको भन्दै विरोध जनाएका छन्।

चन्द्रागिरी नगरपालिका क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो नगरपालिका हो। काठमाडौं जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको यो नगरपालिका भित्र थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ लगायतका क्षेत्रहरू पर्दछन्। वडामा खनिएका २ बोरिङबाट पानी नआएपछि समस्या बढेको नगरपालिकका प्रवक्ता कृष्णप्रसाद खड्गीले बताए ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १३:३३