अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
१६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोट ककनी २ का किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएका छन । यही वैशाख ५ गतेदेखि काठमाडौँको बसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रचण्डले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन ।
मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका थिए ।
सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आए लगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराएका थिए । उनले मन्त्रालयबाटै डा नवीन घिमिरे, डा माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली गठन गरी निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका थिए ।
प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १४:०९