३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

धुलाबारीमा दनुवार समुदायको संस्कृति झल्किने महोत्सव

झापा झापाको मेचीनगर–१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो ।

समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले यही वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव गरिने बताए। महोत्सवमा दनुवारको जातीय परिहन, कला, संस्कृति, वेषभूषा, खाना, गहनाको प्रदर्शनी हुने र दनुवार समुदायका ज्येष्ठ नागरिकको सम्मान गरिने उनले बताए ।

समितिका मेचीनगर अध्यक्ष मोहन दनुवारले महोत्सवमा जिल्लाभरबाट पाँच सयभन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताए । मुलुकका १९ जिल्लामा दनुवार समुदायको बसोबास रहेको छ । सिन्धुली तथा उदयपुरमा सबैभन्दा बढी संख्यामा दनुवार रहेका समितिका केन्द्रीय सल्लाहकार अग्निमाया मेचे दनुवारले बताए ।

महोत्सवमा रु तीन लाख ८० हजार खर्च हुने अनुमान गरिएको मेचीनगर अध्यक्ष मोहन दनुवारले बताए । मेचीनगरमा मात्र एक हजार दुई सय घर दनुवारको बसोबास छ । नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुले ढिलै भए पनि दनुवार समुदायले आफ्नो पहिचान, कला र संस्कृतिलाई महोत्सवमार्फत प्रस्तुत गर्न लागेकामा खुसी व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ झापाका पूर्वसचिव अमित खम्बुले आफ्नै भाषा, कला र संस्कृति भएको दनुवार जातिको पहिचान लोप हुँदै गएको अवस्थामा महोत्सवले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ११:२९