२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ: मन्त्री शर्मा

१२ बैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताकी छन ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राखेकाे जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीयस्वरुपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गरिन।

मन्त्री शर्माले भनिन, “भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ । कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुदैन । भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ ।”

नीतिगत भ्रष्टाचार रोक्न कानुन बनाउँदै विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै उनले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्छ भनिन । सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्छ भन्दै मन्त्री शर्माले पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने र निष्ठाको राजनीति गर्नेलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्न सके भ्रष्टाचार अन्य गर्न सकिने बताए।

भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । विसं २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो । जवाफका क्रममा उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा महत्वपूर्ण कुरा उठेको भए पनि दफावार छलफलमा त्यसलाई पूर्णता दिइने विश्वास दिलाए ।

विधेयक स्वीकृत

बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकाे थिइन ।

बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताइन । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:१४