२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सांसदले उठाएका प्रश्न र सम्बोधनलाई वेबसाइटमा राख्न सांसद कार्कीको माग

१२ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठककमा सांसद कार्कीले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरेकी हुन् ।

‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण हुन्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु । ’

सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित मन्त्रीबाट जवाफ आउने कानूनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको गुनासो छ । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेबारे पनि सरकारसँग जवाफ मागेकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:५६