२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

समग्र मुलुककै मुहार फेर्नका लागि तनहुँवासीले मत दिनुभयोः स्वर्णिम वाग्ले

१२ वैशाख, काठमाडाैँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका डा स्वर्णिम वाग्लेले समग्र मुलुककै मुहार फेर्नका लागि तनहुँवासीले मत दिएको बताएका छन । सामाजिक सञ्जाल मार्फत मतदातालाई धन्यवाद दिँदै वाग्लेले भनेका छन, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’

उनले चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि तनहुँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत नागरिकहरूसँगको नियमित सम्पर्क र अन्तरक्रिया मार्फत योजनाहरू अघि बढाउने बताएका छन । वाग्नेले सामाजिक सञ्जालको टिप्पणी यस्तो छ,

तनहुँ क्षेत्र नम्बर १, वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
सर्वप्रथम लोकतन्त्रका लागि प्राण आहुति दिने सम्पूर्ण शहीदहरू प्रति सम्मान व्यक्त गर्दछु । जसको कारण यस किसिमको उच्चतम लोकतान्त्रिक अभ्यासको प्रयोग गर्न पाएका छौँ ।
तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण न्यायप्रेमी, विकासप्रेमी, विवेकशील मतदाता, आमाबुबा, दाजुभाई, दिदिबहिनीहरूलाई हृदयदेखि नै धन्यवाद ।
सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टी प्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु ।
यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद ।
विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद ।
यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।
यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।
देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।
चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि यहाँका स्थानीय र प्रदेश सरकारका जन प्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रिया मार्फत योजनाहरू अघि बढाउने छु ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १०:०८