२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको ऐतिहासिक जित

१२ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन  । आज बिहान सम्पन्न मतगणनाअनुसार वाग्नेले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन । वाग्लेले सात दलीय सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारलाई धुलो चटाए । वाग्लेले कुल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन । सामान्यतया हार्नेहरूको बहुमत हुने गरेकोमा स्वर्णिमले जित्नेको नै बहुमत सावित गरेका छन ।

वाग्नेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:०३