फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो
१२ वैशाख, काठमाडाैं । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।
जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ ।
उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । करिब एक घण्टा उडान स्थगित गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त जहाज अहिले सामान्य अवस्थामा गन्तव्यतर्फ उडिरहेको छ । विमानस्थलको उडान पनि अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।
विमानस्थलको अवस्था अहिले सामान्य भइसकेको महाप्रबन्धक तिवारीले बताउनुभयो । जहाज नेपालगञ्जबाट भारततर्फको रुट भएर २८ हजार फिटमा उडान भरेर गन्तव्यतिर गइरहेको विमानस्थलले जनाएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबई सुरक्षितरूपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत विमान सुरक्षित रहेकाले कसैलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ । रासस
प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २२:४५