२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आविष्कारका लागि बिकास बजेटको १ प्रतिशत बिनियोजन होस्ः महाबिर पुन

११ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संघ र प्रदेश सरकारले विकासको १ प्रति प्रतिशत बजेट अनुसन्धानका निम्ति बिनियोजन गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत चार बुँदे माग सार्वजनिक गर्दै पुनले अनुसन्धान, नवप्रवर्तन र आविश्कार गर्ने प्रतिभाशालि जनशक्ति निर्माण गर्न संघ र प्रदेश दुवै सरकारले बिकास बजेटको १ प्रतिशत अनुसन्धानका निम्ति बिनियोजन गर्नु पर्ने भनेका छन् ।

स्टाटसमा उनले लेखेका छन्,‘अनुसन्धान, नवप्रबर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस । र,अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोषमा राखियोस् । सो, कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिलाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र अविष्कार गर्न सहयोग गरियोस ।’

स्टाटसमार्फत उनले आविष्कार कोषको रकम परिचालन गर्न छुट्टै खरिद ऐन निर्माण गर्न पनि माग गरेका छन् । स्टाटसमा उनले भनेका छन्,‘कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्बजनिक खरिद ऐन भन्दा छुट्टै अनुसन्धाननबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन बनाइयोस । र, आबश्यकता अनुसार अनुसन्धानको कामलाई बहुबर्षीय कार्यक्रममा राख्न मिल्ने गरि नीति नियम बनाईयोस् ।’

उनले नवउद्यमीका लागि सरकारले सजह रुपमा ऋण उपलब्ध गराउनु पर्ने पनि माग गरेका छन् । नवउद्यमीलाई अनुमति, लाइसेन्स वितरण गर्न नव उद्यमी प्रवद्र्धन समिति गठन गर्न पनि उनले सरकारसँग माग गरेका छन् । प्राइवेट तथा मुनाफा वितवरण नगर्ने अनुसन्धान केन्द्र खोल्न विज्ञान तथा प्रविधि मन्त्रालयले व्यवाहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न पनि उनले माग गरेका छन् ।

उनले स्टाटसमा भनेका छन्,‘बिज्ञान मन्त्रालय अन्तर्गत ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोलियोस । सो, विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेश फिर्ता ल्याउनको लागि चाल्नु पर्ने ठोस बाताबरण तयार गर्ने पूर्ण अधिकार सहित जिम्मा दिइयोस ।’

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:३०