आज मातातीर्थ औंसीः चन्द्रगिरीस्थित मातातीर्थमा भक्तालुको भीड
७ वैशाख, काठमाडौं । आज(बिहीवार) माततीर्थ औंसी । जन्म दिने आमाप्रति श्रद्धा र सम्मान गर्दै भब्यतपूर्व मनाइँदैछ । आमाप्रति भक्तिभाव देखाउँदै छोराहरुले अनेक किसिमको मिष्ठान्न भोजन गराउने चलन छ ।
‘आमाको मुख हेर्ने’ दिनका रुपमा स्थापित यस दिन आमालाई विभिन्न उपाहार दिने पनि गरिन्छ । यो पर्व प्रत्येक वर्षको बैशाख कृष्ण औंशीका दिन मुलुकभर मनाइन्छ । बिहानै स्थान गर्ने, आमाको दर्शन गर्ने, टिका आर्शिवाद लिने, मिष्ठान्न भोजन गराउने, उपाहार दिने लगायतका कार्य यस दिन गरिन्छ ।
आमा नभएकाहरुले बिभिन्न तीर्थस्थाल पुगि आमाप्रति श्रद्धा प्रकट गर्ने गर्छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आजैका दिन ठुलो मेला लाग्ने गर्छ । बिशेषगरी आमा नभएकाहरु मातातीर्थ पुग्ने गर्छन् । र, आमाको सम्झानामा दीप प्रज्वलन गर्ने गर्छन् । मातातीर्थमा आमाको प्रतिक स्वरुप मुर्ती पनि स्थापना गरिएको छ । आमा नभएकाहरुले सोही मुर्तीलाई आमाको प्रतिक मानेर श्रद्धा गर्ने गर्छन् ।
मातातीर्थ औंसीमा चन्द्रगिरी नगरपालिकाले बिहीवारका लागि सर्वजनिक बिदा पनि दिएको छ । औंसीलाई धुमधामका साथ मनाउन नगरपालिकाले विदा भएको हो । चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले मातातीर्थ औंसी मुलुककै ठुलो उत्सव भएको हुँदा नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
उनले भने,‘मातातीर्थ औंसी मुलुककै ठुलो पर्व हो । यस दिन नगरपालिकास्थित मातातीर्थमा लाखौं तिर्थालु आउने गर्छन् । त्यसो हुँदा पर्वलाई लक्षीत गरि हामीले सार्वजनिक विदा दिने निर्णय गरेका हौं ।’ नगरपालिकाका अनुसार मेला भर्न करिब पाँचको हाराहारीमा तीर्थालु आउने छन् । उनीहरुको सुविधाका लागि नगरपालिकाले मेला आयोजक समिति गठन गरेको छ ।
सुरक्षाका लागि बुधवारबाटै सुरक्षाकर्मी परिचालन भएका छन् । तीर्थालुको लाइन व्यवस्थापन गर्न स्काउट देखि स्थानीय स्वयमसेवी युवालाई पनि परिचालन गरिएको छ । नगरपालिकाका मेयर गिरीले भने,‘मातातीर्थमा यस पटक ५ लाखको हारहारीमा तीर्थालु सहभागि हुने अनुमान छ । कोडिभ–१९ का कारण यस अघि तीर्थालु सहभागि हुन सकेका थिएनन् । अहिले त्यस्तो छैन । उनीहरुको सुरक्षा तथा आवश्यक प्रवन्धका लागि सुरक्षाकर्मी, स्वयमसेवी तीर्थस्थलमा परिचालन गरिएको छ ।’
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:१४