२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बूढीगण्डकी जलाशययुक्त आयोजना तत्काल सुरु गर्न सांसद पाण्डेको माग

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी जलाशययुक्त आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पाण्डेले सरकारलाई चाँडो भन्दा चाँडो आयोजना सुरु गर्छौ र यति सालभित्र सम्पन्न गर्छौ भनेर प्रतिबद्धता जाहेर गर्नका लागि सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।

उनले भने ‘सरकारलाई चाँडो भन्दा चाँडो यो आयोजना सुरु गर्छौ र यति सालभित्र सम्पन्न गर्छौ भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् ।’ पाण्डेले आयोजना निर्माणका लागि २ खर्ब ६० अर्ब भए निर्माण हुन सक्ने बताए । सरकारले उक्त आयोजनाको लागि पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त शुल्क मार्फत १ खर्बभन्दा बढी संकलन भइसकेको पनि जानकारी दिए ।

उनले भने ‘ अव २ खर्ब ६० अर्ब भए यो निर्माण हुन सक्छ । सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजनाका लागि भनेर इन्धनमा कर लगाएर १ खर्ब ५ अर्ब रुपैयाँ उठाइ पनि सकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा ५० अर्ब फेरि शेयरबाट उठ्छ । वर्षको २५ अर्बको स्रोत सुनिश्चितगर्दा यो आयोजना सम्भव हुन सक्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठिसक्छ । ’

उनले आयोजनाका लागि संकलन गरेको रकम सरकारले अन्य कुरामा लगानी गरेकामा असन्तुष्टि व्यक्त गरे । सांसद पाण्डेले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछा पालनबाट लाखौँ मानिसले रोजगारी पाउने र व्यवसाय पनि गर्न सकिने बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १६:१८