२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी


६ बैशाख, भोजपुर । पौवादुङमा गाउँपालिकामा भिरकोट माझकुलो निर्माण भएपछि स्थानीयवासीलाई सजिलो भएको छ । पुस्ताैँदेखि खेतीको लागि आकासे पानीको भरमा बिताउँदै आएका स्थानीय कुलोको पानी खेतसम्म आएपछि उत्साहित भएका हुन् । वडा कार्यालयले बजेट विनियोजन गरेर कुलो निर्माणमा सहयोग गरी दिएपछि उनीहरुलाई सजिलो भएको हो ।

सिँचाइ कुलोबाट पानी आउन थालेपछि यसवर्ष समयमा बाली लगाउन सहज भएको स्थानीय नरबहादुर राईले बताए । धेरै खेतीयोग्य जमिन भएपनि सिँचाइको व्यवस्था नहुँदा कतिपय जमिन बाँझिदै गएको अवस्थामा कुलो निर्माणले प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ । ‘‘सिँचाइ कुलो नहुँदा खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था थियो’’, किसान राईले भने,‘‘वर्षौबाट आकासे पानीको भरमा खेती गर्दै आएका थियौँ । वडाको बजेटमा कुलो सञ्चालनमा आएपछि हामीलाई सजिलो भयो ।’’

कुलो सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिकीमा परिर्वतन आएको भनाइ छ । सिँचाइको व्यवस्था भएपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीमा लागेका छन् । ‘‘सिँचाइपछि हाम्रो दैनिकीमा नै परिवर्तन आएको छ, तरकारी उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरेर आम्दानी गरिरहेका छौँ’’, उनले भने ।

खेतबारीसम्म पानी आएपछि खेतीको काम गर्न उत्साह थपिएको पौवादुङमा– १ भिरकोटका किसान विदुर राईले बताए । वडाले योजनाबद्ध रुपमा काम गरेकोले थोरै बजेटमा पनि उपलब्धिमूलक काम भएको छ । अरु ठाउँमा रहेका कुलो सञ्चालनमा पहल गरी दिए अन्य ठाउँका स्थानीयवासीलाई पनि राहत पुग्ने जनाइएको छ । ‘‘हामी किसानको पक्षमा वडाले गरेको काम सराहनीय छ’’, उनले भने, ‘‘यहाँका स–साना काम पानि प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ । कृषि क्षेत्रमा वडाले गरिरहेको कामले हामीलाई सहज भएको छ ।’’

वडा नं १ खेतीको लागि उपयुक्त भूगोल रहेकाले यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको वडा कार्यालयले जनाएको छ । प्रशस्त उर्वरभूमि रहेपनि सिँचाइको राम्रो व्यवस्था नहँुदा समस्या रहेकोले वडाको बजेटबाट सिँचाइको विकासको लागि काम गरिरहेको कार्यालयको भनाइ छ । सिँचाइ कुलोसँगै प्लास्टिक टनेल वितरण गरेर पनि स्थानीयवासीलाई सहयोग गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

‘‘हाम्रो ठाउँ कृषिको लागि अत्यन्तै उर्वरभूमि हो’’, वडाध्यक्ष तामाङले भने,‘‘सिँचाइको अभावमा त्यसबाट लाभ लिन नसकिएको अवस्था पनि छ । वडाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले हामीले यहाँ भूगोल अनुसारको बालीमा जोड दिएका छौँ ।’’ वडाको योजनाको बजेट विजियोजन गर्दा स्थानीयवासीको आवश्यकताको आधारमा गर्ने गरेको उनको भनाइ छ । किसानलाई आर्थिक पक्षमा जोड्दै उनीहरुको अवस्था सुधारमा भूमिका खेलिरहेको उनले बताए ।

‘‘म जनप्रतिनिधि भएपछि यहाँको सम्पूर्ण स्थानको अवलोकन गरेको छु’’, उनले भने,‘‘यहाँका धेरै ठाउँमा सिँचाइको समस्या छ । वडाको बजेटले सबै सम्भव त छैन तर पनि पालिका तथा सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेर पनि काम गर्ने सोचमा छु ।’’ सिँचाइको विकास गर्दै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यसाथ काम भइररहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

किसानलाई व्यावसायिक कृषिमा जोड्न सिँचाइ समस्या हटाउन विभिन्न ठाउँमा योजनाबद्ध रुपमा काम भइरहेको छ ।‘‘हाम्रो गाउँपालिकाको धेरै ठाउँमा पिउने पानी तथा सिँचाइको समस्या छ’’, अध्यक्ष राईले भने,‘‘हामीले यसको योजनाबद्ध विकास थालेका छौँ । कतिपय ठाउँको समस्या हल भएको छ । कृषिको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । हाम्रो लक्ष्य नै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने छ ।’’

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १४:१६