८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको सहज जित

५ वैशाख, काठमाडाैं ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले मलेसियामाथि सहज जित हात पार्दैं एसीसी प्रिमियर कप क्रिकेटमा सुखद सुरुवात गरेको हाे ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित दर्ता गर्यो । भीम सार्की र कुशल मल्लले चौथो विकेटका लागि गरेको १ सय १२ रनको साझेदारीले सहज विजयतलाई सम्भव बनाएको थियो । यो योगदानमा नेपालले मलेसिायले दिएको २ सय ३६ रनको लक्ष्य ३६ ओभर २ बलमा नै पूरा गरेको थियो ।

भीमले ९८ बलको सामना गरेर ५ चौकाको सहयोगमाव्यक्तिगत ७१ रनको योगदान गरे । यस्तै कुशल मल्लले ४० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा ७० रन बनाए । असहज सुरुवात गरेको नेपालले पहिलो विकेट सस्तोमा गुमाएको थियो । आसिफ शेख १ रनमा नै पेवेलियन फर्किदा कुशल भुर्तेल र भीमले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे नेपाललाई टिकाएका थिए । कुशलले ३१ बल खेलेर ५ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

कप्तान रोहित पौडेलले ४३ बलको सामना गर्दै ५ चौकाको सहयोग ४२ रन बनाए । यसअघि मलेसियाका लागि कप्तान अहमद फैज र वीरनदीप सिंहले शतकीय साझेदारी गर्दा नेपालले २ सय ३६ रनको लक्ष्य पाएको थियो । पछिल्ला पाँच खेल नेपालसंग गुमाएको मलेसियाको यो घरेलु टोलीविरुद्ध सम्मानजनक लक्ष्य थियो ।

कप्तान फैजले ९५ बलको सामना गरेर ८ चौका र १ छक्काको सहयोगमा आफ्नो टोलीका लागि ७६ रनको योगदान गरेका थिए । वीरनदीप सिंह दोस्रो विकेटका लागि फैजले १ सय १६ रनको साझेदारी गर्दा मलेसिया सम्मानजनक अवस्थामा उभिएको हो । ९४ बल खेल्दै २ चौकाको सहयोगमा वीरनदीपले ४६ रन जोडे ।

मोहम्मद अमिरलाई १८ रन, विजय युनी १२, सैयद अजिज १३, खिजार हायत २२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । सोमपालले ८ ओभरमा ३२ र दिएर ३ विकेट हात पार्दा सन्दीपले भने १० ओभर खेलेर ४७ रन खर्चेका थिए । ललित राजवंशीले १० ओभर खेलेर ३४ रन दिदैं २ विकेट लिदा गुलसन झाले ५ ओभर खेलेर १ मेडनसहित ३३ रन दिएर १ विकेट लिएका थिए । पाकिस्तानमा आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि यो प्रतियोगितालाई छनोटको आधार मानिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १६:११