२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

वैशाख १८ गतेदेखि तातोपानी नाका नियमित सञ्चालनमा, मानिसको ओहोरदोहोर भने नखुल्ने


५ वैशाख, काठमाडौं । चीनसँगको व्यापार तथा आयात निर्यातमा काठमाडौंका लागि लाइफलाइन मानिएको तातोपानी नाकाबाट आगामी बैशाख १८ गतेदेखि निर्यात पनि खुल्ने भएको छ । सोमबार नेपाल चीन सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा भएको छलफलमा नाकाबाट निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको छ ।

२०७२ सालमा गएको महाविनाशकारी भूकम्पछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – २ हुँदै चीन जोड्ने उत्तरी नाका लगभग ठप्प थियो । यसबीच सञ्चालनमा आउँदा पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएको यो नाकाबाट अब नेपालले निर्यात गर्न पाउने भएको छ । तर लामो समयपछि निर्यात मात्र खुल्दा स्थानीयवासी भने निराश देखिएका छन् । नाकालाई पूर्णरुपमा सञ्चालनमा ल्याएर मानिसहरुको आवातजावत र व्यापारिक ओहोरदोहार पनि खोलेर नाकालाई पूर्व अवस्थामा ल्याउनु पर्ने माग स्थानीयको छ ।

गत चैत १५ गते तिब्बतको ल्हासामा बसेको बैठकमा नेपालसंग जोडिएका सीमानाका खोल्न चीन सरकार सकारात्मक देखिएको थियो । त्यही बैठकको निरन्तरताका लागि सोमबार बसेको बैठकमा नेपाल र चीनका सरकारी अधिकारीहरुबीच निर्यात खुलाउने सहमति भएको हो । यस अघि केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएकोले तातोपानी नाका पनि पूर्णरुपमा सञ्चालनमा ल्याउनु पर्ने स्थानीयको माग छ ।

यस विषयमा जानकारी लिन खोज्दा नेपाल चीनबीचको सरकारी अधिकारीहरुको छलफलमा सहभागी भएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने विरामी भएकाले बोल्न नसक्ने भन्दै सम्पर्कमा आउन चाहेनन् । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भने बैशाख १८ गतेदेखि नाका पूर्णरुपमा खोल्ने सहमति भएको बताए । तर उनले आफुलाई पूर्ण जानकारी नभएको उनको भनाइ थियो ।

यस्तै सिन्धुपाल्चोक जिल्ला प्रहरी उपरीक्षक बालनरसिंह राणाले बैशाख १८ गतेदेखि नाका पूर्णरुपमा सञ्चालन आउने गरी सहमति भएको जानकारी दिए । उनले कोभिड १९ का कारण अझै पनि केही सतर्कता कायम राखिएको भन्दै दुई देशका अधिकारीबीच अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर सुरक्षा गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता विषयमा पनि छलफल भएको बताए ।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारी न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेपछि छलफललाई विषय प्रवेश गराइएको थियो । बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहभागी थिए । यस्तै चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १४:०३