२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउनु मुख्य लक्ष्यः नवनियुक्त परराष्ट्र मन्त्री साउद

३ वैशाख, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले, छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउने प्रतिवद्धता जनाएका छन् ।
आजै परराष्ट्र मन्त्रीको रुपमा सपथ लिएका उनले पदभार ग्रहण गर्दै पत्रकारसँग आफ्नो प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको बताए । मुख्य रुपमा छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउन आफूले सक्दो प्रयास गर्ने उनको भनाई छ ।

‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ’, उनले भने, ’आगामी दिनमा पनि विश्वभरका देशहरू र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाखमा भारत भ्रमण गर्ने कुरालाई लिएर परराष्ट्र मन्त्री नियुक्त गरेको भन्ने विषयलाई मन्त्री साउदले घुमाउरो पाराले पुष्टि गरे ।

‘त्यो पनि एउटा कारण हुन सक्छ । त्यसमा छलफल अगाडि बढाउँछौ । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यू त्यसमा संलग्न हुनुहुन्छ ब्रिफिङ लिन्छु । त्यसपछि मात्रै थाहा हुन्छ ।’ उनले भने ‘मैले कार्यभार सम्हालेको छु। अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ।’

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १७:१७