भर्ने हाेइन त ? सर्वसाधारणका लागि तीन कम्पनीकाे आईपीओ निष्काशन हुँदै, कुनकाे कति कति ?
काठमाडौं। वैशाखमा तीन कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ ) निष्काशन गर्दैछन् । सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले बैशाख महिनामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेका हुन् ।
१) मेन्छियाम हाइड्रोपावर
मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलि वैशाख ४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।
त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ।
२) माई खोला हाइड्रोपावर
माई खोला हाइड्रोपावरले बैशाख ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गर्न लागेकाे हाे ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोष, ३० हजार ५८८ कित्ता कर्मचारी र बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
३) सिटी होटल
सिटी होटलले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । यो होटलले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०% ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको हो । सो मध्ये १०% (१ लाख ६७ हजार ४ सय कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको छ ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवेदन खुला भइरहेको छ । वैदेशिक रोजगारीमा रहेकाले वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । जारी पुँजीको ४% (६६ हजार ९६० कित्ता) सेयर कर्मचारी र ५% (८३ हजार ७ सय कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ
प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १६:१६












