२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जनतामा पैदा भएको निराशालाई चिर्दै मुलुक अघि बढाउन एमाले सक्रिय छः अध्यक्ष ओली

१ वैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशालाई चिर्दै बलियो राष्ट्रिय शक्तिमार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय रहेको बताएका छन् ।

नयाँ बर्ष विक्रम सम्वत् २०८० का अवसरमा आज दिएकाे शुभकामना सन्देशमा अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्यौलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा विथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका हुन् ।

मुलुक निर्माणको सुस्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको नेकपा (एमाले) लाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव नरहेको र राजनीतिक स्थिरता विना विगतमा थालिएका विकास र समृद्धिका कार्यक्रम अगाडि बढ्न सम्भव नरहेको सन्देशमा उल्लेख गरिएको छ ।

नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न वितेका दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको र यसबाट सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले) लाई बलियो बनाउन मद्दत पुग्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गरेका छन् ।

नयाँ बर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने नेकपा (एमाले) को गन्तव्यमा साथ र सहयोग प्रदान गर्न हार्दिक आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १०:४७