२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

टि–२० विश्व कपमा नेपालद्वारा भुटानसामु १५१ रनको लक्ष्य प्रस्तुत

२३ असोज, काठमाडौँ । टि–२० विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले भुटानसामु १५१ रनको लक्ष्य प्रस्तुत गरेकाे छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानसँग उत्कृष्ट ब्याटिङ गर्न सकेन । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो ।


नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित ७५ रनको पारी खेले । उनले ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए । त्यस्तै, नेपालका लागि अनिल कुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले अविजित ११ रन बनाए । नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने दाउँमा रहेको छ ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक रहेको छ । तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहंदा आयोजक मलेसियाको ३ अंक रहेको छ । त्यस्तै, पाचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक रहेको छ।

यो समूहबाट शीर्ष ३ राष्ट्र टि–२० विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार ०९:३४