२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

आरकेडी होल्डिङ्सले सर्वसाधरणका लागि आईपीओ निष्कासन गर्ने

२८ चैत, काठमाडाैं । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक शेयर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत
तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १६:२८