१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

फुटपाथमा रहेका प्रहरी बिट तत्काल हटाउन मेयर बालेनको चेतावनी


२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले बाटो मिचेर बनाइएका प्रहरी बिट तत्काल हटाउने चेतावनी दिएका छन् ।

समाजिक सञ्जालमा ‘स्टाटस्’ लेख्दै मेयर बालेन्द्रले बाटो मिचेर बनाइएका प्रहरी बिट प्रहरीले नहटाए कानून अनुसार आफैँ हटाउने चेतावनी दिएका छन् । फुटपाथ सबैका लागि भएको उल्लेख गर्दै नियम पनि सबैका लागि समान हुने उनको भनाई छ । उनले भनेका छन्, ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’

कानून कार्यन्वयन गर्ने प्रहरीले नै बाटो मिचेर बिट बनाउनु गलत रहेको बालेनको भनाई छ । उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौं ।’

फुटपाथ रोकेर नागरिकको आवामन बन्द गर्ने नेपालस्थित बिभिन्न बिदेशी दुतावासलाई पनि त्यसो नगर्न पत्रचार गरिएको बालेनले स्टाटसमा उल्लेख गरेका छन् । उनले भनेका छन्,‘राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

यसअघि मेयर बालेनले सिंहदरवारको फोहर शनिवारबाटै उठान बन्द गर्ने चेतावनी दिएका थिए । त्यसलगतै बालेनले अर्को ‘स्टाटस’ सार्वजनिक गर्दै प्रहरी बिट हटाउन भनेका हुन् । उनको टिप्पणीलाई कतिपयले केन्द्र सरकारले गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउन असहयोगको प्रतिक्रियाका रुपमा विश्लेषण गरेका छन् ।

काठमाडौं महानगरपालिका शुक्रवार बस्ति हटाउन डोजरसहित गैरीगाउँस्थित सुकुम्वासी बस्ती पुगेको थियो । स्थानीयले अवरोध गरेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंसँग सहयोग माग गरेका थिए । तर, परिसरले आदेश नआएको भन्दै प्रहरी परिचालन गर्न अस्वीकार गरेको थियो । गैरीगाउँ पुगेका मेयर बालेन्द्र त्यसपछि फर्किएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १४:३९