२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रतिगामीहरूसँग साठगाँठ गर्नेहरूले कम्युनिष्टको व्यङ्ग्य गर्ने कुनै अधिकार छैनः माधव नेपाल

२२ चैत, काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगामीहरूसँग साठगाँठ गर्नेहरूले कम्युनिष्ट शक्तिको भूमिकालाई लिएर व्यङ्ग्य गर्ने गरेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित सम्पादकहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अप्रत्यक्ष रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्टको भूमिकालाई लिएर व्यङ्ग्य गर्ने अधिकार नभएको बताएका हुन् ।

उनले भने ‘हामी कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्न चाहन्छौं कसै कसैले हामीलाई कम्युनिस्ट शक्तिको रुपमा हाम्रो भूमिकालाई लिएर व्यङ्ग्य गरेको पाइएको छ त्यस्तो व्यङ्ग्यको कुनै अर्थ छैन प्रतिगामीहरूसँग साठगाँठ गर्नेहरुसँग हामी माथि औंला उठाउने कुनै अधिकार छैन ।’

अध्यक्ष नेपालले, कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गर्ने खालको कार्य नगरि सबैसँग मिलेर अगाडी बढ्न सकिने टिप्पणी गरे । उनले भने ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता बोक्छन् भने खुसीकै कुरा हो । तर, विचार, नीति, दृष्टिकोण र भावनामा मेल हुनुपर्यो ।

अनि सबै वचन र कर्ममा एकता हुनुपर्यो । सबै कुरा मिल्ने भयो भने मिलेर जान नसकिने कुरै छैन । हामी कसैलाई पन्छाउने, समाप्त पार्ने र बहिष्कृत गरेर जान चाहादैनौं ।’ उनले मिरब्याजीहरुलाई विभिन्न किसिमले संरक्षण गरिएको देखिएकाले चाँडो पीडितलाई न्याय दिन सरकार समक्ष माग गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:२५