२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मधेस प्रदेश सरकारबाट बाहिरियो एमालेः चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

२१ चैत, जनकपुरधाम । मधेस प्रदेशमा एमालेका सबै मन्त्रीहरुले राजीनामा दिएका छन् । गत मंसीरमा भएको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले आज मंगलबार संयुक्त राजीनामा दिएका हुन् ।

एमालेबाट मन्त्री बनेका, भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेश मामिलामन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलमले राजीनामा दिएका हुन् ।

त्यस्तै गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पनि राजिनामा दिएका छन् । यसैबीच सरोज कुमार यादवले अब उपनिर्वाचन पछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । उनले भने ‘अब सम्भवतःउपनिर्वाचन पछि मात्रै पुनः मन्त्रीमण्डल गठन हुन्छ । ’उनले रिक्त रहेका मन्त्रालयहरुको कार्यभार अर्को मन्त्रीमण्डल गठन नहुनजेल आफै सम्हाल्ने जानकारी दिए । मधेसमा एमालेका २३ सांसद छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १६:३०