२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भयोः सीके राउत

१५ चैत, काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ मा षड्यन्त्र रचेर सिट खाली गराउने काम भएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले, नाम नलिए पनि, प्रष्ट बुझिने गरि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसदमा छिराउनकै लागि नियतवस बारा २ मा सिट खाली गराइएको आरोप लगाए ।

उनले मत दिएको तीन महिना नपुग्दै पद खाली गराउनु भनेको जनमतको घोर अपमान भएको जिकिर गरे । उनले भने, ‘बारा २ मा भएको निर्वाचन पार्टीबिचको मात्रै होईन्, लोकतन्त्र कायम राख्ने कि त्यसको मजाक उडाउने, सत्य र असत्य, न्याय र अन्यायबीचको यो लडाई हो । यसमा षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट पसाउने कामको लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताले जुन जनमत दिएको थियो त्यसको अपमान भयो । मत दिएको तीन महिना नपुग्दै खाली गराउनु भनेको जनमतको घोर अपहेलना हो ।’

उनले बारा २ मा सिट खालि हुना साथ निर्वाचन आयोगले उपनिर्वाचनको घोषणा गरेको भन्दै यसमा सबैको मिलेमता भएको उल्लेख गरे ।
उनले निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला बाहेक उम्मेदवार बन्न नपाउने भन्दा पनि सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको आरोप समेत लगाए ।

बारा २ का राजनीतिक कार्यकर्ताहरुले गठबन्धनको नाममा सधैँ बलिदान दिनु पर्ने परिपाटिको सिर्जना भएको उनको ठहर छ । उनले माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराउँदै उनले बारा–२ मा हुने उपनिर्वाचनमा जिताएरै छाड्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १४:२०