नेपालको व्यापार घाटा ९ खर्ब नाघ्याेः ८ महिनामा १० खर्बको आयात हुँदा १ खर्बको निर्यात
८ चैत, काठमाडाैं । नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको आयात गर्दा जम्मा १ खर्बको मात्र निर्यात गरेको छ। चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात गर्दा सो अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोडको वस्तु आयात गरेको हो । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो।
भन्सार विभागको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। ८ महिनामा व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम रहेकाे विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत वर्ष साेही अवधिमा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ रहेकाे थियो।
चालु आर्थिक वर्षको माघ महिनासम्म नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेकाे छ । याे अवधिमा नेपालले २ खर्ब २७ अर्ब ९ करोड ४ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेकाे भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
साे अवधिमा नेपालमा १ खर्ब ४ अर्ब ८० करोड ९८ लाख ९ हजार रुपैयाँको फलाम, ६५ अर्ब ४६ करोड ६९ लाख ४४ हजार रुपैयाँको औद्योगिक मेसिन, ६४ अर्ब २२ करोड २४ लाख ६८ हजार रुपैयाँको तेल-घिउ र ४० अर्ब ३९ करोड ८६ लाख ७० हजार रुपैयाँको मोती आयात भएको विभागले जनाएकाे छ । त्यस्तै, साे अवधिमा ३९ अर्ब ९७ करोड ९४ हजार रुपैयाँको प्लास्टिकजन्य वस्तु, ३३ अर्ब ९७ करोड ५२ लाख ९१ हजार रुपैयाँको फलफूल र तरकारी, २९ अर्ब ३२ करोड ३५ लाख ९५ हजार रुपैयाँको औषधिजन्य वस्तु आयात भएको छ।
भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालमा २७ अर्ब ७५ करोड ९४ लाख ९५ हजार रुपैयाँको मल, ३२ अर्ब ६५ करोड ९८ लाख ७६ हजार रुपैयाँको सवारी साधनका पार्टस्, १७ अर्ब ३६ लाख ७८ हजार रुपैयाँको कपडा, १७ अर्ब ९० करोड ७६ लाख ९ हजार रुपैयाँको निकेल जस्ता तामा, मेटल, आल्मो नियम र १६ अर्ब ९५ करोड ४ लाख ६ हजार रुपैयाँको सर्जिकल उपकरण आयात भएकाे छ।
प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १२:३६