भर्नुभयाे त ? सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
३० फागुन, काठमाडाैं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको हाे ।
कम्पनीको जारी पूँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात ३३ लाख ३२ हजार ५०० किता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई बाँडफाँड गरिएको र १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैया बराबरको १०० रूपैयाँ अंकित दरको ४९ लाख ९८ हजार ७५० किता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार ८०५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३० कित्ता सेयर सामूहिक नगानी कोषहरुको लागि बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
सीडीएसका अनुसार सोमबार ५ बजेसम्ममा १० लाख ६७ हजार ३ सय ३० जना लगानीकर्ताले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि माग गरिएको भन्दा २.९४ गुणा बढी हो ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:०६












