२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

टी–२० विश्वकप क्रिकेटमा नेपालकाे विजयी सुरूवात,  म्यानमार ८ विकेटले पराजित 

१७ असाेज, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बी’मा नेपालले शानदार विजयी शुरूवात गरेको छ ।

मलेसियामा बुधवार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्‍यो । ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा भेट्टाएको हो । नेपाललाई विजयी लक्ष्यसम्म डोहोर्‍याउने क्रममा करण केसीले अविजित १४, अनिल साहले ११ तथा विनोद भण्डारीले १ रन जोडे । प्रदीप ऐरी गोल्डेन डक आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको थियो । ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा १/१ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए । २ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलिङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।

दोस्रो खेलमा नेपालले आगामी शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, म्यानमार र मलेसियाका अलावा थाइल्याण्ड, चीन र भुटान सहभागी छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १४:१४