४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

भर्ने हाेइन त ? सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

२६ फागुन, काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकेको छ। बाँकी रहेको सेयरमध्ये अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानिकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:०४