२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड असोज २८ मा हुने

१७ असोज, काठमाडाैँ । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही असोज २८ गते हुने भएको छ । लिगलिग कोट विकास अभियानले आज यहाँ पत्रकार सम्मेलन गर्दै हरेक वर्ष हुँदै आएको प्रतियोगिता यही असोज २८ गते गर्ने जानकारी दिइयो ।

गोरखाको चेपेघाटबाट शुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ । दौड १३।८ किमीको हुनेछ । प्रतियोगिताको विजेतालाई रु ६० हजार १०० सहित लिगलिगेको राजा घोषित गरिने पत्रकार सम्मेलनमा अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिनुभयो ।

यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नाका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ । राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा दोस्रो हुनेले रु ३५ हजार १००, तेस्रो हुनेले रु २५ हजार १००, चौथो हुनेले रु १२ हजार १०० र पाँचौँ हुनेले रु सात हजार १०० पुरस्कार पाउनेछन् । लिगलिगे दौडअन्तर्गत नै पाँच किलोमिटरको समावेशी महिलातर्फको विजेताले रु २० हजार पाँच, दोस्रोले रु १२ हजार पाँच र तेस्रो हुनेले रु सात हजार पाँच पुरस्कार पाउनेछन् ।

विसं १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ । प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन् । यस्तै खेलाडीका लागि रु सात लाखको बीमासमेत गरिएको आयोजकले जनाएको छ ।

नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट शुरु भएको भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

विसं १६०४ मा शुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार ०६:४५