४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा

२४ फागुन, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभर बदली रहनाका साथै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पासहित उच्च हिमाली भेगमा हल्का हिमपात भइरहेको उनले जानकारी दिए। “अहिले देशभर बदली भइरहेको छ, कतिपय उच्च हिमाली भूभागमा हिमपात हुनाका साथै उपत्यकामा पनि वर्षा भएको छ”, उनले भने ।

कास्की, पाल्पा र रुपन्देहीमा बिहान हल्का वर्षा भएको थियो । आज पहाडी र हिमाली क्षेत्रका भू–भागमा मौसम बदली रहनाका साथै पश्चिम तराईका क्षेत्रमा मौसम केही खुल्ने देखिएको मौसमविद् पौडेलले बताए । बदली र वर्षा भए पनि ठूलो बाढी र पहिराको सम्भावना भने नरहेको उनको भनाइ छ ।

महाशाखाकाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : 14:23