बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाई किन बनाउँदैछन ज्ञानेन्द्रको शालिक ?
-प्रतिमा मुडभरी
२४ फागुन, काठमाडौँ । राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक पूर्व एमाले नेता दुर्गा प्रसाईले फागुन १ गते झापाको मेचीपुल नजिकैबाट पूर्वराजाको उपस्थितिमा सहकारी, बैंक र लुघबित्तका प्रमुखहरूमाथि कालोमासो दलिने र भौतिक आक्रमण गर्ने सम्मका चेतावनी सार्वजनिक गरे ।
केहीदिनपछि आर्थिक मिडिया सञ्जाल संघ नेपाल (इमान)सँगको कुराकानीमा उनै दुर्गा प्रासाईले सबैजसो बैंकरमाथि कालोमोसो दल्ने र उस्तैपर्दा खुकुरी नै हान्नुपर्ने बताउँदै गर्दा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाका बारेमा फरक टिप्पणी गरे । तलको भिडियोमा प्रसाईले ढुंगानाका बारेमा गरेको टिप्पणी सुन्न र हेर्न सक्नुहुन्छ ।
उनले ज्ञानेन्द्र ढुंगाना बैंकिङ क्षेत्रको सबैभन्दा राम्रो व्यक्ति भएको भन्दै उनको सालिक बनाउने निर्णय गरेर निर्माणको काम सुरू गरिसकेको बताए । प्रसाईले ज्ञानेन्द्र ढुंगाना जस्तो बैंकर हुने हो भने आफूजस्ता व्यवासयी समस्यामा नपर्ने भन्दै भारतको राजस्थानमा सालिक निर्माणको काम भैरहेको भन्दै केही समयपछि झापाको बिएण्डसी अस्पतालको प्राङ्गणमा उनको शालिक प्रतिस्थापन गर्ने बताए ।
दुर्गाको प्रशंशाको केही दिन अघि बैंकर्स संघले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रसाईको चेतावनीले समस्या पैदा भएको भन्दै यस्तो अवस्थामा मिडियाले साथ दिनुपर्ने बताएको थियो । उक्त पत्रकार सम्मेलनमा निकै तनावपूर्ण देखिएका संघका पूर्व अध्यक्ष समेत रहेका ढुंगानले यो समयमा सञ्चारमाध्यमले बैंकिङ् सेक्टरलाई सहयोग गर्नुपर्ने अपिल नै गरे । संघले पत्रकार सम्मेलन नै गरेर गरेको अपिल तलको भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।
सबैजसो बैंकर माथि आक्रमक देखिएका प्रसाईले ज्ञानेन्द्रमाथि देखाएको सदाशयताले बैंकिङ क्षेत्र झस्किएको छ । उनी स्वयं पनि प्रसाईले आफ्नो सम्बन्धका आयामहरूको बारेमा थप बताउने हो कि भनेर केही डराएका देखिन्छन ।
दैनिकीले ढुंगानालाई शालिक बनाइरहेको प्रसाईको निर्णयको कुरा र उनीसँगको सम्बन्धको बारेमा चासोसहित प्रतिक्रियाका लागि पटक पटक सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहेनन् । फोनमा उनी सम्पर्कमा आउन नचाहेपछि दैनिकीको टिम सोमबार नबिल बैंकको प्रधान कार्यालयको पाँचौ तलामा रहेको उनको कक्षमा पुग्दा उनी बैठकका लागि बाहिर पुगेको जानकारी प्राप्त भयो ।
कमसल धितोमा भन्दा बढी लगानीका मास्टरमाइन्ड
कमसल धितोमा बढी लगानी गर्नेमा कीर्तिमानी बनाएका ढुंगाना यस्ता विषयमा मास्टरमाइन्ड मानिन्छन । जग्गा किनबेचमा कर छल्ने र ऋण लिंदा ब्यांकिङ कसूर हुने चलखेल गरेका दुर्गा प्रसाईको पनि मास्टरमाइन्ड उनै ढुंगाना रहेको प्रसाई निकट बताउँछन । बिएण्डसीका लागि कमसल धितोमा धेरै ऋण प्रवाह गर्ने योजनमा मास्टरमाइन्ड ढुंगाना नै हुन ।
प्रसाईले उक्त विषय बाहिर ल्याइदिने डरले उनी बढी आत्तिएको बैंकर्स संघका कतिपय पदाधिकारीले बताउने गरेका छन । दुर्गा प्रसाईंको आठ करोडको जग्गालाई एक अर्ब ७४ करोड ऋण प्रवाह गर्नेमा उनै ढुंगानाको रणनीतिले काम गरेको भन्दै प्रसाईले उनलाई धन्यवादको पात्र बनाउने शालिक बनाएर पूजा गर्ने निर्णय लिएको उनी निकटका बताउँछन ।
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियानको नेतृत्व गरेर सडकमा आन्दोलन चलाइरहेका प्रसाईंले वित्तीय क्षेत्रमा अस्थिरता निम्त्याउने कोशिश गर्नु र उनको आठ करोडको जग्गालाई एक अर्ब ७४ करोड ऋण प्रवाहमा सहयोग गर्ने बाहेकलाई कालोमोसो दल्छु भन्नु संयोगमात्र नहुने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन ।
प्रसाईंले जग्गा धितो राखेर ऋण लिंदा कर छली गरेको र बैंक तथा वित्तीय संस्थासँग मिलेर धितोको अधिक मूल्याङ्कन गराई निक्षेपकर्ताको रकम दुरुपयोग गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमै औंल्याएको छ । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले प्रसाईंको नाम उल्लेख नगरी वित्तीय दुरुपयोगको बिएण्डसी घटनाबारे बिस्तृतमा उल्लेख गरिएको छ ।
ढुंगाना तीनै व्यक्ति हुन जसले तत्कालीन नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा बिराटनगर वाणिज्य कार्यालयमा दर्ता गरिएको भनिएको पार्थ इन्टरनेशनल नामक कम्पनीलाई दिइएको कर्जा शंकास्पद पाइएपछि राष्ट्र बैंकले स्पष्टिकरण सोधेको थियो । उनले पार्थ इन्टरनेशनलको १ करोड ८९ लाख रुपैयाँ डिस्ट्रेस भ्यालुमा ९ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत गरेका थिए ।
बैंकर्स संघको अध्यक्ष हुँदा कथा नेपाललाई चन्दा दिन बैंकहरूमा उर्दी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरूपयोग गरेर समृद्धिको यात्रामा लम्किरहेको आरोप लागेको कथा नेपाल प्रा. लि.लाई बाणिज्य बैंकहरूले दामासाहीले चार लाखका दरले चन्दा दिनुपर्ने निर्णय गरेर उर्दी जारी गर्ने पनि उनै ज्ञानेन्द्र ढुंगाना हुन । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था बैंकर्स संघले निर्णय नै गरी बैंकहरूबाट चार लाखका दरले चन्दा दिन उर्दी जारी गरेको थियो ।
उक्त उर्दीको समयमा ढुंगाना नै संघको अध्यक्ष रहेका थिए । प्रधानमन्त्रीका तत्कालीन सल्लाहकारको अादेशमा ढुंगानाले एक व्यक्ति एक बैंक खाता भन्ने सरकारी अभियान प्रचारका लागि भन्दै प्रति बैंक चार लाख चन्दा उठाउने निर्णय गरेका थिए ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई इमेल मार्फत फर्मान जारी गर्दै चार लाखका दरले कथा नेपाल प्रा.लि.लाई पैसा दिन अनुरोध गरेका थिए । बैंकहरुले वितरण गर्ने संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसाको केही अंश सो संस्थामार्फत खर्च गर्न भन्दै फर्मान जारी भएपछि प्रमुख कार्यकारी अधिकृतहरू तनावमा परेका थिए ।
संस्थागत सामाजिक उत्तरदायित्वको पैसा बैंकहरू आफैँले निर्णय गरेर हरेक वर्ष वार्षिकोत्सबमा दिने गरेका छन । तर त्यस्तो पवित्र उद्देश्यको कोषबाट सरकारी अभियान प्रवर्द्धनका नाममा बैंकबाट चन्दा उठाउने निर्णय गरेपछि चाैतर्फी बिरोध भएको थियो ।
प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०७:१०