२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिको माओवादी धारका दलहरूले प्रतिवाद गर्ने

२३ फागुन, काठमाडाैं । माओवादी पृष्ठभूमिका नेताहरु एकता र संयुक्त मोर्चा निर्माणमा आघि बढ्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आज भएको संयुक्त बैठकपछि उनीहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ्ले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको र शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने बिषयमा नेताहरु एकमत रहेको बताए ।

उनले भने,‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्छ । संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कार्वाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुयाउँदैन भन्ने बिषयमा हामी स्पष्ट छौं । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

उनले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्ने विषयमा सबै घटकहरु एकमत भएको बताए । बैठकपछि उनीहरुलले संयुक्त प्रेस विज्ञप्ती पनि जारी गरेका थिए । विज्ञप्तीमा शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गर्ने बिषय उल्लेख छन् ।

साथै, विज्ञप्तीमा विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्ने बिषयमा प्रतिवद्ध रहेको उल्लेख छ । उक्त विज्ञाप्तीमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ’प्रकाण्ड’, नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिधमाको हस्तक्षर छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:०५