२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डले मध्यरातसम्ममा कुनै चमत्कार नगरे चैत्र ५ सम्म सरकार विस्तार गर्न नमिल्ने

१६ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मध्यरातसम्ममा कुनै चमत्कार नगरेमा चैत्र ५ गतेसम्म सरकार विस्तार नहुने भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले आज मध्यराति देखि लागू हुनेगरी आचारसंहिता जारी गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार यो बीचमा सरकार विस्तार गर्दा मतदाता प्रभावित हुने सम्भावना रहन्छ । त्यसकारण चैत्र ५ गतेसम्म सरकार विस्तार हुन्न । सरकार विस्तार गरेर मन्त्री बनाउन मतदाता मध्येबाटै छान्नुपर्ने भएकाले त्यसमा आचारसंहिता आकर्षित हुन्छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै आज राति १२ बजेदेखि चैत्र ५ गतेसम्मका लागि निर्वाचन आचारसंहिता जारी गरेको जानकारी दिएका छन । उनले आचारसंहिता गत भदौँ १३ गते नै राजपत्रको खण्ड ७२ को संख्या ३२ मा प्रकाशन भैसकेको बताएका छन ।

आयोगको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदाताले पालना गर्नुपर्ने हुन्छ ।

आयोगका प्रवक्ता पौड्यालले नेपालको संविधानको पलाना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा निर्वाचन सम्बन्धी कानुन र आचारसंहिता पालनाको विषयमा प्रश्न उठनु शोभनिय नहुने भएकाले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १४:१५