निर्मला हत्या प्रकरणः प्रधानमन्त्रीले बोल्दै नबोलेको कुरा किन लेखियो ?
१५ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले बोल्दै नबोलेको विषय अनलाइनखबरले तोडमोड गरी प्रकाशन गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले निर्मला हत्या प्रकरणमा अपराधी प्रकाउ गर्न १२ वर्ष लाग्छ भनेर नभनेको बताएका छन । सल्लाहकार अर्यालले भनेका छन, ‘विदेशभूमिमा सम्माननीय प्रधानमन्त्रीको अन्तरवार्ता लिएर उहाँका धारणा र विचारलाई सार्वजनिक गरिदिनु भएकोमा धन्यवाद दिन नपाउँदै तपाईंलाई यति कुरा दुःखका साथ लेख्नु परेको छ । सम्पादकज्यू, कृपया आफ्नो साख आफैं जोगाऔं ।’ अनलाइनखबरले ‘निर्मलाका हत्यारा प्रकरणः अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ- प्रधानमन्त्री’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
अर्यालले अनलाइनखबरको उक्त समाचारपछि यस्तो प्रतिक्रिया दिएका छन ।
विज्ञान र प्रविधिमा भएको अकल्पनीय प्रगतिले सञ्चार क्षेत्रमा अद्भूत तीव्रता उत्पन्न गराएको छ, सूचनाको अति सहज वितरण तथा पहुँचको वातावरण सिर्जना गरिदिएको छ । यो अवस्थाले हामी सबै पत्रकारलाई गहन जिम्मेवारी प्रदान गरको छ । तपाईं पनि पक्कै असहमत हुनु हुन्न, अबको युगमा पत्रकारिता केवल जिम्मेवारी र व्यावसायिक नैतिकताका आधारमा मात्र टिक्न सक्नेछ ।
तत्कालका लागि भ्रम, अतिरञ्जना र अफवाह फलाउने क्षमता त हरेक व्यक्तिको औंलाको टुप्पोमा छ । त्यसैले अत्याधुनिक साधनको प्रयोग असावधानिवश गर्दै साख गुमाएको अवस्थामा कुनै पनि आमसञ्चार माध्यमको शक्ति यथाअवस्थामा कायम रहँदैन भन्ने सत्यमा तपाईंको विशेष ध्यानाकर्षण गराउँदछु ।
तपाईले अघिल्लो दिन आफैंले छापेको प्रधानमन्त्री के.पी. शर्मा ओलीको अन्तरवार्तालाई भोलिपल्टै तोडमोड गरी अर्को सामग्री बनाएर प्रस्तुत गर्नुभयो । एकजना सम्मानित र जिम्मेवार राजनेताको अन्तरवार्तालाई यसरी आफैंले तोडमोड गरी गैरजिम्मेवारीपनाकोे नमूना देखाउनु भएको हो कि होइन, एकपटक गम्भीरतापूर्वक सोच्न आग्रह गर्दछु ।
तपाईं नै आफ्ना अन्तरवार्ताकार सूर्य थापासँग एकपटक सोध्नुस त, टेप गरिएका आवाज मात्र होइन, तत्क्षणको ननभर्वल कम्युनिकेसनबाट पनि प्रधानमन्त्री केपी ओलीले बालिका निर्मलाको बलात्कार र हत्या गर्ने अपराधीलाई पक्रन १२ वर्ष कुर्नु पर्छ भन्ने आशय प्रकट गर्नु भएको थियो त ?
अनुसन्धानमा वेवास्ता गर्ने आशय प्रकट गर्नु भएको थियो त ? पटक्कै थिएन । अन्तरवार्ता जति पटक सुने पनि, पढे पनि उहाँको आशय प्रष्ट छ, ज सिुकै जटिल बन्दै गएको देखिए पनि सरकारले प्रहरीलाई अनुसन्धान कार्यमा थाक्न दिने छैन । छानविनलाई टुंगोमा पुर्याएर अपराधीलाई कानुनको दायरामा अवश्य ल्याइने छ ।
तपाईंले छाप्नु भएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भर्खरै सुल्भिmएको एउटा अपराधको घटनाको दृष्टान्त प्रस्तुत गर्दै भन्नु भएको छ, १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन् । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दा रहेछन् ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई अपराध विरुद्धको लडाईं कुनै थकान विना निरन्तर अघि बढ्नेछ भन्ने सुस्पष्ट प्रतिवद्धता नठानेर अर्को अर्थ निकाल्ने प्रयत्न व्यावसायिक मर्यादा विपरित छ । विदेशभूमिमा सम्माननीय प्रधानमन्त्रीको अन्तरवार्ता लिएर उहाँका धारणा र विचारलाई सार्वजनिक गरिदिनु भएकोमा धन्यवाद दिन नपाउँदै तपाईंलाई यति कुरा दुःखका साथ लेख्नु परेको छ । सम्पादकज्यू, कृपया आफ्नो साख आफैं जोगाऔं ।
कुन्दन अर्याल, पीएच डी
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार
प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार १८:०२