३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

नेशनल ल कलेजमा पहिलोपटक स्ववियू निर्वाचन हुँदै

१२ फाल्गुन,  काठमाडौं । नेशनल ल कलेज, ललितपुरका इकाई समितिहरु इतिहासमा पहिलोपटक स्ववियू निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।नेशनल ल कलेजका विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र ने.वि.संघको शुक्रवार बसेको सर्वदलीय बैठकले सो निणर्य गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष आशुतोष पाण्डे भन्छन् ,”कलेजको स्थापना भएपश्चात आजसम्म त्रि.विले स्ववियु चुनाव नगराएकोले हाम्रो कलेजमा पनि विद्यार्थीका मुद्दा उठाउने साझा संगठनको अभाव रहँदै आएको छ । यसपटक त्रि.वि.ले तोकेको समयभित्र कलेजले पनि तदारुकता देखाएर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउँछ भन्नेमा हामी विश्वस्त छौँ ।”

ई.सं. २०१२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भइ स्थापना भएको उक्त कलेजमा त्रि.वि ले स्ववियु चुनाव नगराउँदा कुनै पक्षबाट दबाब दिइएको थिएन ।अहिले त्रि.वि. ले स्ववियु चुनाव गराउने भएपछि विद्यार्थी र इकाइ समितिका विद्यार्थी नेताहरू आपसी छलफल र चुनाव लक्षित रणनीति बनाउन व्यस्त छन् ।

उनको भनाइलाई समर्थन गर्दै ने.वि. संघ इकाइ सभापति रिजन नरसिंह केसी भन्छन् , “क्याम्पस प्रशासनसँग तत्काल आवश्यक छलफल गरी निर्वाचनको मिति तोक्न दबाब दिने निर्णय भएको छ ।”

स्ववियु निर्वाचनको मिति निजिकिँदै गर्दा देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थीहरु चुनावी माहोलमा होम्मिन थालिसकेका छन् । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निणर्य गरे सँगै क्याम्पसहरुमा माहोल तातिएको छ ।

स्ववियु निर्वाचन देशभरिका त्रिवि अन्तरगत ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थी सहभागी हुँदैछन् । सानेपामास्थित नेशनल ल कलेजमा पनि स्ववियु निर्वाचन गराउन माग गर्दै विद्यार्थीहरुले आन्तरिक तयारी सुरु गरिसकेका छन् । कानूनको विषय पढाई हुने यस कलेजमा ३ वटै संगठन स्ववियु चुनाव गराउन सकारात्मक देखिन्छन् ।

प्रकाशित मिति : 14:00