२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

माधवको ‘वर्थ डे’मा नेकपा चैट, ओलीको ‘वर्थ डे’मा एमालेले सत्ता गुमाएको सन्देश

११ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको दिन बिहानै एमालेले वर्तमान सत्ता गुमाएको सन्देश प्रवाह भएको छ । यसअघि अघिल्लो वर्ष फगुन २३ मा माधवकुमार नेपालको जन्मदिनको दिन एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्चले कोल्याप्स पारिदिएको थियो । अर्को पार्टीसँग नाम मिलेको भनेर सर्वोच्चले नयाँ नाम तय गर्न आदेश दिएको थियो यद्यपी नयाँ नामको तयारी नै नगरी एमाले र माओवादीले पुनः आ(आफ्नो पार्टीको संगठन अघि बढाएका थिए ।

बिहीबारको ओलीको जन्मदिनमा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुर्घटनामा परेको सन्देश प्रवाह भएको छ । राष्ट्रपति निर्वाचनको संघारमा उम्मेदवारबारे विवाद हुँदा गठबन्धन भत्किएको हो । यद्यपी यसको घोषणा हुन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भएको बुधबारको भेटमै यो सत्ता गठबन्धनमा ब्रेक लगाउने जानकारी दिएका थिए । सामान्यतया आफ्नो कुरा आरूलाई सुनाउने बानी परेका ओलीलाई बुधबार प्रचण्डले झण्डै दुई घण्टा आफ्नो कुरा सुनाएको बालुवाटार स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरूङले दैनिकीसँग कुरा गर्दै आफ्ना एजेण्डा एमालेले अस्वीकार गरेको तर कांग्रेसले सहमति जनाएको जानकारी दिए । उनले माओवादीले राष्ट्रपति निर्वाचनका विषयमा केही महत्वपूर्ण सवाल अघि सारेको जानकारी दिँदै राष्ट्रपतिकै कारण गठबन्धन टुट्नुपर्ने कारण नभएको जानकारी दिए ।

तपाईहरूले भनेको जस्तो राष्ट्रिय सहमति बनेन भने चाहिँ एमालेको उम्मेदवरलाई राष्ट्रपतिमा मत दिनुहुन्छ त भन्ने दैनिकीको प्रश्नमा महासचिव गुरूङले भने, ‘तपाईंको एमालेले हाम्रो कुरा सुन्नै चाहिराखेको छैन । फेरि कांग्रेस चाहिँ हामीले राखेका सबै एजेण्डामा सकारात्मक भएर अघि बढ्न तयार भैदिएको छ ।  पछि के गर्छ थाहा छैन । अहिले सबै कुरामा सहमति जनाइदिएको छ । हामीले शान्ति प्रक्रियादेखिका विषय उठाउँदा त्यसमा एमाले सकारात्मक नदेखिनु बिडम्बना हो । राष्ट्रपति दलको हुँदा रामवरण यादवको पालमा भएको कटुवाल काण्ड र विद्याभण्डारीको पालामा भएको दुई दुई पटकको संसद विघटन हामीले बिर्सन सकिरहेका छैनौँ, जसको कारणबाट हामी अडानमा कायमै छौँ ।’

वर्तमान सत्तागठबन्धन दुर्घटनामा पर्ने भएपछि माओवादीले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेताहरूसँग भन्दा बढी कांग्रेस, लोसपा, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको बीचमा छलफल र बहसलाई घनिभुत बनाएको छ । उनीहरूको छलफल दिनहुँ बालुवाटरमै हुन थालेको छ । अब कुनै अर्को चमत्कार भएन भने फागुन अन्तिम साता नै एमाले र राप्रपा पनि सरकारबाहिर हुनेछन ।

फागुन २५ सम्म एमाले सरकारमै रहने 

माओवादी केन्द्रले राष्ट्रपतिको आफ्नो उम्मेदवारलाई मत नदिने निश्चित जस्तै भए पनि एमाले नेतृत्वले फागुन २५ सम्म कुर्ने भएको छ । स्रोतका अनुसार एमालेमा राष्ट्रपतिको निर्वाचनको दिनसम्म माओवादीलाई कुर्ने विषयमा शीर्ष नेतृत्वको बीचमा सहमति भएको छ । एमालेले सचिवालय बैठक मार्फत राष्ट्रपतिको उम्मेदवार तय गर्ने तयारी गरेको छ । माओवादीसँग गठबन्धन टुट्ने निश्चितप्राय भएपछि एमालेले सचिवालय बैठकमा छलफल गरेर उम्मेदवारी दिने तयारी गरेको हो । आजै वा भोलि एमालेले त्यसका लागि बैठक बोलाउने एक पदाधिकारीले दैनिकीलाई जानकारी दिए ।

लिखित सहमतिको खाका तयार 

सर्वोच्चको परमादेशका लागि बनेको पुरानो गठबन्धन व्यूँताउन कांग्रेस र माओवादीका नेता सहमत भएका छन । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा बुधबार राति प्रधानमन्त्री निवासमा आगामी दिनका लागि सहमतिको खाका नै तयार भएको छ । जस अनुसार माओवादी दुई वर्ष कांग्रेसले दुई वर्ष र समाजवादीले एक वर्ष सत्ताको नतृत्व गर्नेछन । राष्ट्रपति कांग्रेसले र उपराष्ट्रपति जसपाले पाउनेछ । प्रचण्डले यसअघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपी माओवादीका केही नेताले भने प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री पाउनुपर्ने बताएका छन । तर प्रचण्ड स्वयं भने नेकपा एकीकृत समाजवादी र एमालेको एकता रोक्नका लागि आफू जम्मा दुई वर्षमात्र प्रधानमन्त्री हुन तयार भएका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ११:०२