३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

क्लिन स्वीप गरेकोमा क्याप्टेन रोहित पौडेल र सिंगो राष्ट्रिय टिमलाई ओलीको बधाई

९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआई क्लिन स्वीप गरेकोमा नेकपा एमालेका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले क्याप्टेन रोहित पौडेल र सिंगो राष्ट्रिय टिमलाई बधाई दिएका छन । सामाजिक सञ्जाल मार्फत केहीबेर अघि ओलीले नेपाली टिमलाई बधाई दिएका हुन ।

उनले भनेका छन, ‘क्लिन स्वीप ! हाम्रो राष्ट्रीय क्रिकेट टीमको क्या गज्जबको जीत। डिभिजन टु वर्ल्ड क्रिकेट लिगमा नेपालले नामिबिया र स्कटल्याण्ड जस्ता वर्ल्ड कप टीमका बिरूद्ध राम्रो खेल्यो। टीम क्याप्टेन रोहित पौडेल, सिंगो राष्ट्रीय टीम र क्रिकेट संघ, नेपाललाई हार्दिक बधाई सहित नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना !’

नेपालले स्कटल्याण्डसामु रोमाञ्चक जित निकालेको छ। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराउन सफल भएको हो । २१३ रनको लक्ष्य पछ्याएको नेपालले ३५ बल बाँकी छँदै जित निकाल्न सफल भयो। त्रिवि क्रिकेट मैदानमा धर्मराइसकेको अवस्थामा पनि कप्तान रोहितले नेपाललाई जित दिलाए। करन केसीसँग रोहितले नटआउट साझेदारी गरे। केसीसँग रोहितले ७५ रनको पार्टरनसिप खेले।

ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाएको नेपाल शुरूदेखि नै धर्मराएको अवस्थामा थियो। ब्याटरहरू लगातार पेभिलियन फर्किएपछि नेपालको जितको आशा झिनो बनेको थियो। यस्तोमा कप्तान रोहितले नेपालको इनिङ उकासे। रोहितबाहेक नेपालका लागि करन केसीले नटआउट ३१ रन जोडे।

अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले जम्मा २१ रन बनाए भने आशिफ शेख १२, कुशल मल्लले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। १० ओभर गरेका ​नेपालका सन्दीप लामिछानेले ४५ रन दिएर ४ विकेट लिए भने करन केसीले ३ विकेट लिए। त्यस्तै ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए।

स्कटल्याण्डका मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए। योसँगै नेपालले यस लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा खेलिएका सबै खेलमा नेपाल विजयी भएको छ।

प्रकाशित मिति : February 21, 2023 at 10:16 pm