नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनकाे कति ?
९ फागुन, काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा ङादी ग्रुप, स्वाबलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो।
लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले फागुन १० गते बुकक्लोज गर्दैछन्। मंगलबार अर्थात आजसम्म कायम शेयरधनीहरूले यी कम्पनीकाे लाभांश पाउनेछन् ।
नेप्सेले ङादी ग्रुपको ४.७५ प्रतिशत, स्वाबलम्बन लघुवित्तको १५ प्रतिशत र कर्पोरेट डभेलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ।
समायोजनपश्चात ङादी ग्रसप पावरको शेयरमुल्य २६३ रुपैयाँ ४८ पैसा कायम भएको छ। यस्तै स्वाबलम्बन लघुवित्तको शेयरमूल्य ९८२ रुपैयाँ ६१ पैसा कायम भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ३१० रुपैयाँ ४८ पैसा कायम भएकाे छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। बुधबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
ङादी ग्रुप पावर
ङादी ग्रुप पावरले फागुन २५ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
स्वाबलम्बन लघुवित्त
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले संस्थापक तथा सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गरी ६०ः४० कायम गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १५:५६












