१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बोका बोकेर गाउँ छिर्यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना


६ फागुन, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानलाई ३१ वटा बोयर जातका बोका–पाठा वितरण गरेको छ । परियोजनाले आज एक समारोहबीच उन्नत पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत बोयर जातको बोका २२ वटा र नौ वटा पाठीसहित ३१ वटा बोका पाठा वितरण गरेको हो ।

ती बोकापाठा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको परियोजना प्रमुख थिरलाल गैरेले बताउनुभयो । जिल्लाका विभिन्न पालिकाबाट सहभागी कृषकलाई बागमती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठले वितरण गर्नुभएको थियो । गत साउनमा सूचना प्रकाशन गरी तयारी मापदण्डका आधारमा वितरण गरिएका बोकाहरू चिठ्ठाका आधारमा कृषकलाई वितरण गरिएको थियो ।

उन्नत बाख्राको व्यावसायीकरणमार्फत कृषकलाई आयआर्जन गराउने मुख्य उद्देश्यका साथ कार्यालयले दर्तावाला पशु समूह र सहकारी समूहहरूलाई वितरण गरेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

कार्यक्रमका अवसरमा परियोजना प्रमुख गैरेले परियोजनाको सहयोगले बाख्राहरूमा नश्ल सुधार भई त्यसबाट पशुपालक किसानले आर्थिकरूपमा फाइदा लिनसक्ने बताउनुभयो ।

जिल्लामा परियोजना लागू भएसँगै कार्यालयले उमाकुण्ड र गोकुलगङ्गामा आलु जोन, मन्थली र रामेछाप नगरपालिकामा जुनार जोन र मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा बाख्रा जोन कार्यक्रम छनोट गरी विभिन्न कार्यक्रम गर्र्दै आइरहेको छ ।

बाख्राजोन कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले उन्नत जातका बोका–पाठी वितरण, खोर निर्माण, घाँसेखेतीका लागि बीउ वितरण, पानी पोखरी निर्माण, मेसिनरी औजारवितरण, औषधि र उपचारजस्ता काममा सहयोग पु¥याउँदै आएको कार्यालय प्रमुख गैरेले बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमसागर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सदस्य आनन्द श्रेष्ठले सबैको प्रयासमा रामेछाप जिल्ला मासुमा आत्मनिर्भर भएको भन्दै कृषकको थप जीवनस्तर उकास्नका लागि सरकारले आगामी आवबाट अन्य सहयोग पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा मन्थली नगरप्रमुख लव श्रेष्ठले परियोजनाले पालिकामा गरेको कामको प्रशंसा गर्दै गाउँमा बस्ने युवाशक्ति कमी भएको बेला व्यावसायिकरूपमा पशु तथा कृषि कर्म गर्दैै आएका कृषकलाई स्थानीय सरकारले पनि सहयोग गर्दै आएको भन्दै थप सहयोग गर्न पनि स्थानीय सरकार तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २१:२३