१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बीमा दाबी गर्न बिग्रेको गाडी जंगलमा लगेर आगो लगाउने चालक पक्राउ

१ फागुन, काठमाडाैँ । नेपाल प्रहरीले बीमा दाबी गर्ने मनासयले आफैैं गाडीमा आगो लगाउने चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्लाको मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय बर्दियाका अनुसार चाैधरी सोमबार बिहान पक्राउ परेका हुन । उनले बीमा दाबी गर्ने मनसायले लु.२ ख २०८४ नम्बरको फोर्स गाडी जंगलमा लगेर मध्यरातमा आगजनी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मधुवन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गए राति आगो लागेर उक्त गाडी पूर्ण रूपमा जलेर नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १८:३८