शुभम पावरको आईपीओ बाँडफाँडः २ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा
२७ माघ, काठमाडाैं । शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारणा सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलकाे कार्यालयमा आज बिहान कम्पनीकाे आईपीओ बाँडफाँड गरेको हो । माघ ८ गतेदेखि माघ २२ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।
क्यापिटलका अनुसार आईपीओ कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ भने १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकककाे आवेदन सदर भएकाे छ । मागभन्दा बढी आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओमा गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:३९












