२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

३८ लघुवित्तले घाेषणा गरे लाभांशः २३ वटाको लाभांश घट्याे, अन्य कुनको कति ?

२५ माघ, काठमाडौं । धमाधम लघुवित्तहरूले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ३८ वटा लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् । जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त कम्पनीहरूले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमा सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीका लागि ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यस्तै, उपकार लघुवित्तले सेयरधनीका लागि ६५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । महिला लघुवित्तले ५० प्रतिशत, नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

लाभांश घोषणा गरेका लघुवित्तमध्ये २३ वटाको लाभांश घटेको छ । सपोर्ट लघुवित्तको लाभांश सबैभन्दा धेरै २० प्रतिशत घटेको छ ।यस्तै, सबैको लघुवित्तको १३.७ प्रतिशत लाभांश घटेकाे छ । गुराँस लघुवित्तको १३.६ प्रतिशत, स्वाभिमान लघुवित्तको १२.९ प्रतिशत, एनएमबि लघुवित्तको १२.१ प्रतिशत, फरवार्ड लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको १२ प्रतिशत, निर्धन उत्थान लघुवित्तको लाभांश ११.११ प्रतिशत र नाडेप लघुवित्त र मिथिला लघुवित्तको १०.५ प्रतिशत लाभांश घटेको छ ।

यस्तै, इन्फिनिटी लघुवित्तको ९.१६ प्रतिशत, सिभिल लघुवित्तको ८.४ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ८ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.३४ प्रतिशत र समता लघुवित्तको ७ प्रतिशत लाभांश घटेको छ । यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत, साधना लघुवित्तको ६.३ प्रतिशत, आशा लघुवित्तको ५.३ प्रतिशत, छिमेक लघुवित्तको ४.७ प्रतिशत र स्वाबलम्बन लघुवित्तको ४ प्रतिशत घटेको छ । यस्तै, स्वरोजगार लघुवित्तको १.८ प्रतिशत, मेरोमाइक्रोफाइनान्स लघुवित्तको १.१ प्रतिशत र महुली लघुवित्तको १ प्रतिशत लाभांश घटेको छ भने ३ वटा लघुवित्तकाे लाभांश दर भने स्थिर रहेको छ । महिला लघुवित्त, नयाँ सारथी लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश दर स्थिर रहेको हाे ।

याे वर्ष ८ वटा लघुवित्तको लाभांश दर बढेको छ । आँधीखोला लघुवित्तको ११.६ प्रतिशत, फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९.५ प्रतिशत, कालिका लघुवित्तको ७ प्रतिशत, मिर्मिरे लघुवित्तको ३ प्रतिशत, आरएमडीसी लघुवित्तको २.४ प्रतिशत र साना किसान लघुवित्तको १.१ प्रतिशत नेरुडे लघुवित्त र आरएसडीसी लघुवित्तको समान ०.५ प्रतिशत लाभांश बढेको हाे ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त र इन्फिनिटि लघुवित्तले याे वर्ष बोनस सेयर मात्रै दिएका छन् भने नगद लाभांश वितरण गरेका छैनन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये हालसम्म १५ वटा लघुवित्तले मात्रै वार्षिक साधारण सभा गर्ने निर्णय गरेका छन् । जसमध्ये ९ वटा लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ भने ६ वटाको हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १०:५२