१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मोलुङ्ग हाइड्रोपावर

२५ माघ, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि छिटोमा फागुन १० गतेसम्म र  ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०९:१९