१ असार २०८३, सोमबार | Mon Jun 15 2026

केपी शर्मा ओलीको प्रस्तावः भान्सालाई औषधालयका रूपमा परिणत गराैँ

२४ माघ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भान्सालाई औषधालयका रूपमा परिणत गर्नुपर्ने वताउनुभएको छ ।अध्यक्ष ओलीले त्यसका लागि खानेकुरामा विषादी तत्व नहोस् भन्ने कुरामा ध्यान दिनुपर्ने वताउनुभयो ।

आज नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपंछी विभागको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पार्टीको ‘निरोगी नेपाल’ नीति सफल पार्न कृषि क्षेत्रको आधुनिकीकरणमा गर्नुपर्ने कामका बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दा रासायनिक मलको न्यून प्रयोग गर्दै क्रमशः प्राङ्गारिक मलको प्रयोगमा जानुपर्छ । मानव स्वास्थ्यका लागि हानिकारक विषादी प्रयोग गर्ने कुरामा सतर्कता अपनाउनुपर्छ, ध्यान पुर्याउनुपर्छ । विस्तारै माटोलाई स्वस्थ बनाउनुपर्छ ।

अध्यक्ष ओलीले ठूलो परिमाणमा कृषि उत्पादन गरी आन्तरिक खपतमात्र नभई निर्यातको अवस्था सिर्जना गर्नुपर्ने तथा उत्पादन बढाउँदा बजारको पनि अभाव नहुने वताउनुभयो । उहाँले कृषि उत्पादनलाई सहकारीमार्फत बजारसम्म पुर्याउने व्यवस्था गर्न सुझाउनुभयो ।

उहाँले कृषिमा लागत कम र उत्पादन बढी कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने र विभागले कृषिका हरेक क्षेत्रको विकासका लागि दिने सुझाव सरकारबाट कार्यान्वयन गराइने वताउनुभयो । बैठकमा कृषि तथा पशुपंछि विकासमन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा अध्यक्ष ओलीलाई पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख गिरधारीलाल न्यौपानेले विभागले तयार गरेका सुझाव प्रदान गर्नुभएको थियो । सुझावमा किसानका समस्या समाधान र कृषि क्षेत्रको विकाससँग सम्बन्धित रहेका र सरकारबाट कार्यान्वयन गराउनुपर्ने न्यौपानेले वताउनुभयो ।

विभागले तयार गरेका सुझावहरूमा तत्काल सम्वोधन गर्नुपर्ने बिषयहरू, नीति तथा कार्यक्रममार्फत सम्वोधन गर्नुपर्ने समग्र बिषयहरू, भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि, सम्पन्न र सम्मानित किसानका लागि गर्नुपर्ने काम, आधुनिक कृषिशिक्षा र जनशक्ति व्यवस्थापन, उच्च उत्पादकत्व सुनिश्चितता सहितको सिँचाइ, किसान पहिचान र वित्तीय सेवासहितको सम्मुन्नत कृषि र युवा र महिलामैत्री कृषि कार्यक्रमका विषय समेटिएका छन् ।

प्रकाशित मिति : February 7, 2023 at 1:57 pm