६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न एमालेलाई केन्द्रीय लेखा आयोगको अनुरोध

२४ माघ, काठमाडाैँ । नेकपा एमालेलाई पार्टीको केन्द्रीय लेखा आयोगले अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न अनुरोध गरेको छ ।आयोगको पाँचौँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा तीनदिनसम्म चलेको बैठकले कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको हो । यही माघको १६, १७ र १८ गते बैठक भएको थियो ।

बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालु आर्थिक बर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसंगठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखा परीक्षण/ अनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरीत आयोगबाट लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टिकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष डा.पुष्प कँडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि रहेका थिए । बैठकमा पार्टीका सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल र रूपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पार्टी निर्माणमा लेखा व्यवस्थापनको महत्व र आवश्यकता एवं आर्थिक कारोबारको अवस्थाबारे जानकारी सहितको मन्तव्य राखेका थिए ।

बैठकमा आयोगका पदाधिकारी तथा सदस्यहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफूहरूले निर्वाह गरेको भूमिकाका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकले गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरू मालती लिम्बु, पदमा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १३:२१