तीन वाणिज्य बैंकको अस्तित्व समाप्त, एकको आंशिक बाँकी
-प्रतिमा मुडभरी
२४ माघ, काठमाडाैं । चालु आर्थिक वर्षको ६ महिनामा प्राप्तिको प्रक्रियामा सहभागी हुँदा तीन वटा वाणिज्य बैंकले पूर्ण र एकले आंशिक असित्व गुमाएका छन । केन्द्रीय बैंकको नीति अुनसार नै मर्जरमा गएका त्यस्ता बैंकहरूले प्राप्ति गर्दा एउटा संस्थाको लोगो र नाममात्र प्रयोग गरेका कारण प्राप्ति स्वीकार गर्ने संस्थाहरूको नाम र लोगोको अस्तित्व समाप्त भएको हो । पछिल्लो समय प्राप्तिमा सहभागी भएको मध्ये नेपाल मेगा बैंकको नाम इन्भेष्टमेन्ट बैंकले स्वीकार गरेको छ । नत्र प्राप्तिमा गएका अन्य बैंकहरूले पनि तीनको कारोबार र जायजेथामात्र स्वीकार गरेको देखिन्छ ।
पुस मसान्तसम्म २५५ बैंक तथा वित्तीय संस्था मर्ज तथा प्राप्तिमा गएका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा गएकाे बताएको हो ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज भई ७२ संस्था कायम भएका छन् ।
२०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकहरूकाे संख्या २७ रहेकाे थियाे । त्यस्तै, २०७९ असार मसान्तसम्म बैंकहरू मर्जरमा जाँदा त्यसकाे संख्या घटेर २६ मा पुगेकाे मा २०७९ मंसिर मसान्तसम्ममा बैंककाे संख्या २२ मा आइपुगेकाे छ ।
यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, कुमारी र एनसीसी बैंक मर्ज भइसकेका छन् । हिमालय र सिभिल बैंक पनि केही समयपछि गाभिर एकीकृत कारोबार गर्दैछन् । त्यस्तै, लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भैसकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले आपसमा मर्ज भइ २७ पुसबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुरु गरेका छन् । त्यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आइएमई बैंकका नाममा २५ पुसबाट एकीकृत कारोबार शुरु गरेका छन् । प्रभु र सेञ्चुरी बैंकले प्रभु बैंकका नामबाट यही पुस २६ गतेदेखि एकीकृत कारोबार गरेका छन् । कुमारी र एनसीसी बैंकले पनि पुस १७ गतेदेखि कुमारी बैंकको नाममा एकीकृत कारोबार सुरू गरेका छन् ।
विकास बैंकहरूकाे संख्या २०७८ असार मसान्तमा १८ रहेकाे मा २०७९ असारमा यसकाे संख्या १७ पुगेकाेमा २०७९ मंसिरमा पनि याे बैंककाे संख्या १७ नै रहेकाे छ । त्यस्तै, वित्त कम्पनीकाे संख्या याे अवधिमा १७ रहेकाे छ ।
२०७८ असार मसान्तमा लघुवित्त वित्तीय कम्पनीकाे संख्या ७० रहेकाेमा २०७९ असारमा आइपुग्दा कम्पनीहरू मर्ज हुँदै ६५ पुगेकाे मा २०७९ मंसिरसम्ममा ६४ वटामा झरेकाे छ । याे अवधिमा पूर्वाधार विकास बैंककाे संख्या १ रहेकाे छ ।
प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १२:१४