चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्यका पसल सञ्चालनमा
१२ असोज,काठमाडौँ । सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको हो ।
विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उहाँले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताउनुभयो । चाडपर्वबाहेक अन्य समयमा पनि आम पसल सञ्चालकले सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “ऐन तथा नियमको परिधिभित्र रहेर नाफा आर्जन गर्न पाइन्छ, गुणस्तरीय सामग्री बिक्री वितरण गर्नुपर्छ, चाडपर्वको मुखमा कालोबजारी गर्न पाइँदैन, बजारलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ ।” मन्त्री यादवले चाडबाडका क्रममा उपभोग्य सामनको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकार कडारुपमा प्रस्तुत हुने प्रस्ट्याउनुभयो ।
यसपटक उपभोग्य सामग्रीको अभाव र कृत्रिम मूल्यवृद्धि नहुने दाबी गर्दै उहाँले आम उपभोक्तालाई ढुक्क हुन आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “सहुलितय पसलबाट सहुलियत मूल्यका सामग्री खरीद गर्नुस् र अन्य पसलबाट सुपथ मूल्यका सामग्री खरीद गर्नुहोस्, कसैले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि गरेको पाइए सम्बन्धित निकायमा खबर गर्नुस्, आम उपभोक्ताको साथमा सरकार छ ।” सहुलियत मूल्यका पसल अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने उहाँको भनाइ थियो ।
आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउन र कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
त्यस्तै उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइएको छ । आजदेखि सञ्चालन भएका सहुलियत मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म चल्नेछ । सरकारले विसं २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सहुलियत मूल्य पसलबाट साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले आकर्षक छुटमा उपभोग्य सामग्री उपलब्ध गराएका छन् । चामल, दाल, गेडागुडी, फापरको पीठो र खसी, बोका, भेडा तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइएको छ । डिडिसीले घ्यूमा प्रतिकिलो रु ५० छुट दिइएको छ ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार १८:३४