१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

राष्ट्रसंघ महासभामा अोलीको सम्बोधनः अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालको असहमति

१२ असोज, काठमाडाैँ । अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालले असहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा नेपाल उभिएको हो । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय सद्भाव विश्वको आवश्यकता रहेको भन्दै असहमति जनाएका हुन ।

अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय कानुनप्रतिको पवित्रता कायम गर्नु पर्नेमा जोड दिए । विश्वस्तरका समस्या समाधानका लागि साझेदारी र सहयोगको नीति अपनाउनुपर्नेमा जोड दिदै ओलीले नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले तिनै तहको निर्वाचनपछि नेपालले प्राप्त गरेका राजनीतिक उपलब्धीबारे पहिलो पटक विश्व फोरममा जानकारी गराउँदै नेपालको आफ्नै मोडलअनुसार वार्ता, आपसी सदभावका कारण शान्तिप्रक्रिया सफल गराएको  बताए ।

प्रधानमन्त्री ओलीले नेपालको संविधान लोकतन्त्र, स्वतन्त्रता, शक्तिको वाँडफाँड, स्वतन्त्र न्यायलय, आवधिक चुनाव लगायतका विषयमा स्पष्ट रहेको पनि बताए । ४१ प्रतिशत महिला निर्वाचित जनप्रतिनिधि हुनु उपलब्धि भएपनि अझै ९ प्रतिशतले सहभागिता बढाउन सरकार प्रतिवद्ध रहेको अोलीले बताए । उनले स्वतन्त्रताको लडाईमा रहेका यमन, सिरिया, प्यालेष्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्नेमा समेत प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ०८:२६