१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

१५ माघ, बैतडी । बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथिबाट रुख ढलाएपछि शनिबारदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको छ ।

सेवा सुचारु गर्न कैलालीबाट प्राविधिक बैतडी पुगेका थिए । प्राविधिक टोलीले समस्या पत्ता लगाइ मर्मत गरेपछि आइतबार दिउँसो सञ्चार सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख बिक्रम राम टमाटाले बताए । उनले स्थानीयवासीले रुख काटेका कारण ३० मिटर लाइन नै परिवर्तन गर्नुपरेको बताए ।

जिल्लाको पाटन नगरपालिका–६ को पोखरी नजिकै स्थानीयले सल्लाको रुख ढालेपछि फाइबर तार चुडिएका थियो । पाटनमा फाइबर तार चुडिएपछि बैतडी र दार्चुलाको फोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको टमाटाले जानकारी दिए ।

‘पाटनमा सल्लाको रुख ढालिदिएको रहेछ, फाइबर तार चुडिएपछि, सेवा प्रभावित बनेको हो, अत्तरियाबाट प्राविधिक टोली आएर मर्मत गरेको छ,’ टेलिकम कार्यालय बैतडीका प्रमुख टमाटाले भने ।

फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सूचना आदान प्रदान गर्न समस्या भएको थियो भने सञ्चारमाध्यमहरुलाई खबर सम्प्रेशण गर्न समस्या भएको थियो । शनिबारदेखि अबरुद्ध फोन र इन्टरनेट सेवा आइतबार दिउँसोदेखि सुचारु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार २०:०१